top of page
  • Facebook Social Icon
  • White Twitter Icon
  • White Google+ Icon
Search

कुखुरामा भ्याक्सिन प्रविधि र पानीमा भ्याक्सिन दिने तरिका

कमर्सियल ब्रोइलर, लेयर्स कुखुरा साथै प्यारेन्ट कुखुरालाई स्थानीय स्तरमा भएको रोगको प्रकोप अनुसार स्थानीय भेटेरिनरी डाक्टर वा ह्याचरी कम्पनीले निर्देशन गरे बमोजिम बिभिन्न भ्याक्सिन दिनुपर्ने हुन्छ । कुनैपनि जीवमा (मानिसमा समेत) भ्याक्सिन दिनुको उद्देश्य भनेको रोग विरुद्द लड्ने क्षमता वृद्दि गर्ने हो । प्यारेन्ट कुखुरामा दिईने भ्याक्सिनले कुखुरा स्वयंको रोग प्रतिरोधात्मक शक्ति त सक्रिय बनाउछ नै साथ–साथै उक्त कुखुराका चल्लामा समेत रोग विरुद्द लड्ने शक्ति अण्डाको माध्यामबाट पुर्याउँछ (Passive Immunity)।


भ्याक्सिनले कसरि रोगबाट बचाउँछ

भ्याक्सिनको प्रकार अनुसार भ्याक्सिनमा जीवित वा निर्जीव प्रोटिनजन्य सक्रिय तत्व हुन्छ जसलाई एन्टीजेन भनिन्छ । जुन रोगको विरुद्द भ्याक्सिन दिईएको हो शरिरमा उक्त रोग विरुद्द लड्न सक्ने क्षमता पैदा गराउँछ भ्याक्सिनले । एन्टीजेनले शरीरभित्र प्रवेश गरिसकेपछि रोगको जीवाणु वा विषाणु विरुद्द लड्न सक्ने एन्टीबोडी भन्ने तत्व पैदा गरी एन्टीबोडीलाई सम्बन्धित जीवाणु वा विषाणु विरुद्द लड्न अभ्यस्त बनाउँछ । यसरी पैदा भएको एन्टीबोडी रगतको माध्यामबाट शरीर भरि फैलिएर रहेको हुन्छ । एन्टीबोडीले सम्बन्धित रोगको जीवाणु वा विषाणु शरिरमा प्रवेश गर्नासाथ तिनलाई तालिम प्राप्त सैनिकले जस्तै हमला गरि परास्त गर्ने काम गर्छ । यसरि भ्याक्सिनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन भूमिका खेल्छ ।


भ्याक्सिनको प्रकार

भ्याक्सिनमा हुने सक्रिय तत्वको आधारमा मूलतः दुई प्रकारको भ्याक्सिन हुन्छन ।

१.जीवित भ्याक्सिन (लाइभ भ्याक्सिन)

यस्ता भ्याक्सिनमा जुन रोगको विरुद्द भ्याक्सिन दिने हो तिनै रोगको ब्याक्टेरिया, भाईरस अथवा प्रोटोजुवा पाईन्छ । भ्याक्सिनमा भएका जीवाणु वा विषाणुलाई कमजोर बनाइएको हुन्छ जसकारण तिनले कुखुराको शरिरमा प्रवेश गरेपछि रोग पैदा गर्न सक्दैनन् । यद्दपी एन्टीबोडी पैदा गर्नसक्ने क्षमता भने यथावत रहन्छ । कुखुराको शरीरभित्र प्रवेश गरिसकेर ब्यापक संख्यामा वृद्दि भएपछी मात्र जीवित खोपले प्रभावकारी ढंगले काम गर्दछ । उदाहरण एफ वान, बी वान, लासोटा, गम्बारो इन्टरमेडियट, गम्बारो इन्टरमेडियट प्लस, आई. बि. एच. १२०, साल्मोनेला एस. जी. नाईन.आर. आदी ।


जीवत भ्याक्सिन प्राय आँखा, नाकको प्वाल, मुखको प्वाल, स्प्रे वा पानीको माध्याम बाट दिईन्छ । जीवत भ्याक्सिनले छोटो समयको लागिमात्र रोग प्रतिरोधात्मक शक्ति सक्रिय बनाउँछ । तर भ्याक्सिन दिनासाथ छिट्टै नै रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।


२.निर्जीव भ्याक्सिन (किल्ड भ्याक्सिन)

यस्ता भक्सिनमा जीवित जीवाणु वा विषाणु नभैकन तिनमा हुने निर्जीव तत्व पाईन्छ जसले कुखुराको रोग प्रतिरोधात्मक प्रणालीलाई सम्बन्धित जीवाणु वा विषाणु विरुद्द सक्रिय बनाउछ । भ्याक्सिन कम्पनीको प्रयोगशालामा सम्बन्धित रोगको जीवाणु वा विषाणु लाई ठुलो मात्रामा कल्चर गरि त्यसपछि तिनलाई मारेर तिनमा भएको निर्जीव सक्रिय तत्व निकाल्छन र भ्याक्सिनको रुपमा भाईलमा प्याकिंग गर्छन । भ्याक्सिनलाई शरीरमा लामो समयसम्म बसाई काम गराउनको लागि निर्जीव भ्याक्सिनमा तेलीय पदार्थ मिसाइएको हुन्छ । उदाहरणः एन.डी. किल्ड, आइ. बि. प्लस एन. डी. किल्ड, आइ. बि. डी. किल्ड, सालमोनेला किल्ड, आइ. बि.– एन. डी. – आइ.बि. डी.– रियो किल्ड आदी ।


निर्जीव भ्याक्सिन प्राय इन्जेक्सनको माध्यामबाट दिईन्छ । निर्जीव भ्याक्सिनले शरीरमा लामो समयसम्म रोग प्रतिरोधात्मक शक्ति सक्रिय बनाइराख्छ । तर भ्याक्सिन दिएपछि रोग प्रतिरोधात्मक शक्ति बढ्न समय लाग्छ ।


कुखुरामा भ्याक्सिन दिईने विभिन्न माध्याम

१. सिधै अण्डामा दिने (इन ओभो भ्याक्सिनेशन): विकसित मुलुकमा अत्याधुनिक प्रविधिबाट ह्याचारिमा सेटरबाट ह्याचरमा ट्रान्सफर गर्ने क्रममा सिधै अण्डामा भ्याक्सिन दिने चलन सुरु भैसकेको छ । यो प्रविधिलाई इन ओभो भ्याक्सिनेशन भनिन्छ ।

२. छाला मुनि दिनेः छाला मुनि र अन्य तन्तु भन्दा माथि प्वाल भएको निडल वा सिरिन्जको माध्यमबाट दिईन्छ । सजिलोको लागि बजारमा भ्याक्सिनेटर मेसिन पाईन्छ । प्रायजसो घाँटीमाथिको खुकुलो छालामुनि दिने चलन छ । घाँटीमाथिको खुकुलो छालामा दिन अन्यत्र भन्दा अलि सजिलो पनि छ । छालामुनि भ्याक्सिन दिन विशेष सावधानी र कुशलता आवश्यकता पर्दछ तर भेटेरिनरी डाक्टरबाट उचित तालिम प्राप्त गरेपछि किसान स्वयंमले पनि यो कार्य गर्न सक्छन् ।

३. मासुमा दिनेः छाला मुनि दिने तरिका सँग धेरै मिल्दो जुल्दो हुन्छ यो विधी तर छाला मुनि नदिएर सिधै मासुमा दिईन्छ । बजारमा पाइने भ्याक्सिनेटरको सहायताले सजिलोसँग दिन सकिन्छ । प्रायजसो छातीको वा फिलाको मासुमा दिने चलन छ । छाला मुनि दिने विधि भन्दा मासुमा दिने विधि केहि सजिलो हुन्छ । हुनत यो विधिको लागि पनि विशेष सावधानी र कुशलता आवश्यकता पर्दछ तर भेटेरिनरी डाक्टरबाट तालिम प्राप्त गरेपछि किसान स्वयंमले यो कार्य गर्न सक्छन । १९ गजको निडल प्रयोग गर्दा सजिलो हुन्छ ।

४. पखेटामा खोस्रेर दिनेः पखेटामा खोपिल्टो परेको एक विशेष स्थानमा दिईन्छ । छाला मुनि दिने र मासुमा दिने विधि भन्दा धेरै नै सजिलो छ यो विधि । यस विधिमा भ्याक्सिनेटरको प्रयोग नगरी दुई ओटा चुचो परेको चिम्टी प्रयोग गरिन्छ । चिम्टीलाई भ्याक्सिन झोलमा डोब्दै छालामा खोस्रिने गर्नुपर्छ । भेटेरिनरी डाक्टरबाट तालिम प्राप्त गरेपछि किसान स्वयंमले यो कार्य सजिलै गर्न सक्छन ।

५. आँखामा दिनेः प्रत्येक चल्लालाई एक–एक गरि छोप्दै ड्रपरको सहायताले एक–एक थोपा भ्याक्सिन झोल आँखामा चुहाउने । यो विधि अत्यन्तै सजिलो हुन्छ ।

६. नाकको प्वालमा दिनेः प्रत्येक चल्लालाई एक–एक गरि छोप्दै ड्रपरको सहायताले एक–एक थोपा भ्याक्सिन झोल नाकको प्वालमा चुहाउने । यो विधि पनि अत्यन्तै सजिलो हुन्छ ।

७. मुखको प्वालमा दिनेः यो बिधि नाकको प्वालमा दिने र आँखामा दिने भन्दा केहि अफ्ठ्यारो हुन्छ किनकि कुखुराले सजिलै मुख नखोल्न सक्छ । यसमा पनि नाकको प्वाल र आँखामा दिएजस्तै एक–एक थोपा मुखको प्वालमा चुहाइन्छ ।

८. स्प्रे गरेर दिनेः कतिपय अवस्थामा हजारौं वा लाखौंको संख्यामा रहेको चल्ला वा कुखुरालाई एकैपटक सजिलोसँग भ्याक्सिन दिनको लागि स्प्रे ट्यांकमा भ्याक्सिन झोल तयार गरि स्प्रे गरेर दिईन्छ । यो विधिबाट भ्याक्सिन दिन विशेष दक्षता चाहिन्छ । नेपालमा यो विधिबाट भ्याक्सिन दिने प्रचलन खासै छैन ।

९. पानीको माध्यमबाट दिनेः पानीमा भ्याक्सिन मिसाई कुखुराको ड्रीङ्करमा राखिन्छ । कुखुराले पानि खाएसँगै भ्याक्सिन कुखुराको शरीरमा प्रवेश गर्छ । दिने सहजताको हिसाबले सबैभन्दा सजिलो विधि हो यो ।

कुखुराको विभिन्न उमेरमा दिनुपर्ने विभिन्न नाम गरेका भ्याक्सिन भेटेरिनरी डाक्टर वा ह्याचारिले तोके बमोजिम विभिन्न माध्यमबाट दिनुपर्ने हुन्छ ।

  • छालामुनिः मेरेक्स एच.भी. टि.

  • आँखा वा नाकको प्वालमा वा मुखको प्वालमाः रानीखेत एफ वान, रानीखेत बि वान, गम्बारो इन्टरमेडीयट, गम्बारो इन्टरमेडियट प्लस

  • मासुमाः रानीखेत आर. टु. बि., फाउल कोराईजा, फाउल कोलेरा

  • पानीमाः रानीखेत लासोटा, आइ.बि. प्लस लासोटा, आइ.बि.एच.१२०

  • पखेटामाः फाउल पक्स

नेपालको सन्दर्भमा छालामुनि र मासुमा दिनुपर्ने कतिपय भ्याक्सिन दिनको लागि किसानहरु पोल्ट्री फार्म बाहिरका प्राविधिकहरु माथि निर्भर हुने गरेका छन । वायोसेक्युरीटी (जैविक सुरक्षा) को दृष्टिकोणबाट यो प्रचलन सम्बन्धित पोल्ट्री फार्मको लागि निकै घातक छ । किनभने यस्ता फार्म बाहिरका प्राविधिकहरु कै माध्यमबाट फार्ममा रोगका किटाणुहरु भित्रन सक्छ । सकभर किसान आफैले वा सम्बन्धित फार्मका कामदारले छालामुनि र मासुमा भ्याक्सिन दिने विधि सिकेर बाहिरी व्यक्ति फार्म भित्र नपस्ने वातावरण सृजना गर्नुपर्छ । यो विधि भेटेरिनरी डाक्टरबाट सजिलै सिक्न सकिन्छ र प्रयोगमा ल्याउन सकिन्छ । यसको लागि किसानले आफ्नो फार्मको लागि छुट्टै भ्यक्सिनेटर (भ्याक्सिन दिने मेसिन) खरिद गर्न आवश्यक छ जुन बजारमा सजिलै पाउन सकिन्छ ।


पानिको माध्यमबाट भ्याक्सिन दिने विधि

कुखुरालाई भ्याक्सिन दिने क्रममा नेपालमा र विश्वमै सबैभन्दा धेरै प्रचलनमा आउने विधि हो पानीको माध्यमबाट भ्याक्सिन दिने विधि । तर सहि तरिका नअपनाई भ्याक्सिन दिँदा भ्याक्सिनले काम नगर्ने हुनाले यस लेखमा पानिबाट कसरि भ्याक्सिन दिने हो र त्यसक्रममा के–कस्ता सावधानी अपनाउनुपर्छ भन्ने कुरा विस्तृत रुपमा प्रश्तुत गर्ने जमर्काे गरिएको छ ।

  • साना उमेरका चल्लाहरुमा पानीको खपत धेरै घटबढ भैरहने र केहि चल्लाहरु ५–६ घण्टासम्म पनि पानि नखाई रहन सक्ने हुनाले भ्याक्सिनमा स्पष्ट उल्लेख गरे बाहेक २० दिन अघिका चल्लामा जीवित भ्याक्सिन पानीमा नदिई आँखा वा नाकको प्वालमा वा मुखको प्वालमा भ्याक्सिन दिनु उपयुक्त हुन्छ । २० दिन पछिका कुखुरामा भने जीवित भ्याक्सिन पानीबाट दिन उपयुक्त हुन्छ । कतिपय वैज्ञानिक अनुसन्धानले गम्बारोको लाइभ भ्याक्सिन मुखको प्वालबाट दिँदा बढी प्रभावकारी हुन्छ भनि देखाएको छ ।

  • जीवित भ्याक्सिन किनेर ल्याएपछि प्रयोग नगरुन्जेल २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रमको कोल्ड चेन कायम गरि राख्नुपर्छ । यसको लागि ढुवानी गर्ने क्रमममा बरफको प्रयोग गर्ने र ल्याइसकेपछि फ्रिजमा राख्ने । भ्याक्सिनलाई बरफ जमाउने माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम भएको डिप फ्रिजमा भण्डारण गर्नुहुँदैन । साथै भ्याक्सिन दिने बेलामा पनि पानीमा भ्याक्सिन दिने भए भ्याक्सिन पानीमा बरफ राख्ने र आँखामा दिने भए साथमा बरफ राखेर प्रत्येक ५० चल्लालाई भ्याक्सिन दिएपछि भ्याक्सिन घोललाई बरफमा छुवाउने । अथवा २ भन्दा बढी घोल बनाउने र एउटा प्रयोग गर्दा अर्काे बरफकै सम्पर्कमा राखिराख्ने र प्रत्येक ५० चल्लालाई दिएपछि घोल परिवर्तन गर्ने अर्थात् पहिला प्रयोग गरेकोलाई बरफको सम्पर्कमा राख्ने र बरफको सम्पर्कमा राखेको लाई प्रयोग गर्ने ।

  • भ्याक्सिन दिने ४८ घण्टा अगाडी र २४ घण्टा पछाडी सम्म पानि सफा गर्ने क्लोरिन र अन्य सानिटाईजर साथै खोर निसंक्रमण गर्ने औसधि प्रयोग नगर्ने । यस्ता औषधिले उल्टै भ्याक्सिनमा भएका सक्रिय तत्वको नाश गर्दछन । फलस्वरूपः भ्याक्सिनको प्रभावकारितामा ह्रास आउँछ ।

  • भ्याक्सिन पानीमा मिसाउन पुर्व भ्याक्सिन घोल बनाउन प्रयोग गरिने बाटा वा बाल्टी र ड्रीङ्कर भाँडा सादा पानीले राम्रोसँग सफा गर्ने ।

  • भ्याक्सिन घोल बनाउने बाटा वा बाल्टी धातुको नभएर प्लास्टिकको प्रयोग गर्ने ।

  • भ्याक्सिन घोल्नु भन्दा आधा घण्टा अगाडी ५ ग्राम प्रति लिटर पानीको दरले स्किम मिल्क पाउडर भ्याक्सिन दिने पानीमा घोल्ने । आधा घण्टा पछि उक्त पानीमा भ्याक्सिन मिसाउने र राम्रोसँग घोल्ने । स्किम मिल्क पाउडरको ठाउँमा गाई वा भैसीको दुध प्रयोग गर्नु हुदैन । स्किम दुध पाउडरले पानीको पी.एच. लाई अनुकुल बनाउछ र हानिकारक गुणहरु लाई कम गर्दछ साथै भ्याक्सिनमा भएको भाईरसको कणहरुलाई लेपन गरेर भ्याक्सिनको प्रभावकारिता बढाउँछ ।

  • चिसो अवस्थामा नै खाओस् भन्नको लागि भ्याक्सिन मिसाइसकेपछि भ्याक्सिन पानीमा वरफ मिसाउने किनभने तातोले भ्याक्सिन निष्क्रिय बनाउँछ ।

  • भ्याक्सिन घोल्ने पानिको मात्रा यसरी मिलाउनुपर्छ कि भ्याक्सिन दिएको १ देखि २ घण्टा भित्र कुखुराले सबै पानि खाइसकोस् । केहि मिनेटमै सकिने गरेर असाध्यै थोरै पानिमा पनि दिनुहुदैन । पानिको मात्रा अत्याधिक कम भई केहि मिनेटमा नै खाइसके सबै कुखुराले भ्याक्सिन प्राप्त गर्दैनन । पानीको मात्रा अत्याधिक धेरै भएर २ घण्टा भन्दा बढी समयमा पनि खाईनसके खाईनसकेको भ्याक्सिन निष्क्रिय हुन्छ ।

  • साधारणतया दिनमा कुखुराले जति किलो दाना खान्छ त्यसको दुई गुणा बढी लिटर पानि खान्छ । उदाहरणको लागी दैनिक १०० किलो दाना खाने कुखुराको फ्लकले सामान्यतया २०० लिटर जति पानी खाने गर्दछ । दुई घण्टा भित्र खाईसक्ने पानीको मात्रा निर्धारण गर्न यो सुत्रलाई प्रयोग गर्ने (दैनिक खाने पानि मात्रालाई १२ ले भाग गर्ने) । स्मरण रहोस् गर्मीयाममा पानीको खपत दानाको तुलनामा ३ देखि ४ गुणा सम्म बढी हुन्छ । यसरी भ्याक्सिनमा प्रयोग गरिने पानीको मात्रा निर्धारण गर्न खोरको दैनिक दाना पानि खपतको रेकर्ड धेरै महत्वपूर्ण हुने देखिन्छ

  • भ्याक्सिन पानि निर्दिष्ट समयमा खाइसकोस् भन्नको लागि गर्मीयाममा १ घण्टा अगाडी र जाडोयाममा २ घण्टा अगाडी देखि नै कुखुरालाई पानि नदिई तिर्खाउनु उपयुक्त हुन्छ ।

  • भ्याक्सिन दिईरहेको बेलामा खोरभित्र चारै तिर हिडेर कुखुरालाई चलायमान गराउने, फिडरमा प्रशस्त दाना दिने र साँझको बेलामा भ्याक्सिन दिएको भए बत्ति चम्किलो हुने गरि बालिदिनुपर्छ । यसो गर्नाले खोरमा भएका सबै कुखुरा भ्याक्सिन खान प्रेरित हुन्छन ।

  • भ्याक्सिनको घोल बनाउँन प्रयोग गरिने पानि एक दिन अगाडि नै उमालेर रातभरी चिस्याई भोलिपल्ट बिहानपख प्रयोग गर्न उपयुक्त हुन्छ । यसरी पानि उमाल्नाले पानीमा हुने भ्याक्सिनको प्रभावकारिता घटाउने हानिकारक खनिज वा लवण तत्व (जस्तै क्लोरिन, फलाम आदी) नष्ट हुन्छ । अथवा भ्याक्सिन दिने पानीमा भ्याक्सि–बुस्ट (Vacci-Boost) वा भ्याक–शिल्ड (Vacc-sheld) जस्ता क्लोरिन डिएक्टिभेटर (Chlorine deactivatior) प्रयोग गर्न सकिन्छ ।

  • नगरपालिकाले वितरण गर्ने पानीमा ब्लिचिंग पाउडरको प्रयोग गरिने हुनाले क्लोरिनको मात्रा अधिक हुन्छ । यदी भ्याक्सिन दिन सोहि पानि प्रयोग गर्नुपर्ने बाध्यता छ भने उपरोक्त क्लोरिन डिएक्टिभेशन (Chlorine deactivation) गर्न आवश्यक छ जसको लागि माथि उल्लेख गरेजस्तै भ्याक्सि–बुस्ट वा भ्याक–शिल्ड जस्ता क्लोरिन डिएक्टिभेटर प्रयोग गर्न सकिन्छ । भ्याक्सिन दिने पानीलाई घाम पर्ने गरी खुला राखेर क्लोरिन डिएक्टिभेशन (निष्क्रिय बनाउने) गर्न सकिन्छ ।

  • भ्याक्सिन घोल्न प्रयोग गरिने डाइलुयन्टलाई चिसोमा भण्डारण गर्नुपर्ने हुँदैन । तथापि भ्याक्सिन घोल्नुभन्दा अगाडी चाहिँ डाइलुयन्टलाई पनि चिस्याउनु पर्दछ । अन्यथा डाइलुयन्टको तापले भ्याक्सिनको सक्रिय तत्व निष्क्रिय हुनसक्छ । साथै घोलिसकेपछी पनि भ्याक्सिन घोलिएको पानीमा सिधै घामको ताप वा प्रकाश पर्न दिनुहुँदैन ।

  • स्मरण रहोस् जहिले पनि भ्याक्सिन बिहान वा साँझको चिसो समयमा दिनुपर्छ । तापले भ्याक्सिन निष्क्रिय बनाउँछ । बिहानको समय सबैभन्दा उपयुक्त हुन्छ किनभने बिहानको समयमा कुखुरा सबैभन्दा बढी सक्रिय हुन्छन ।

  • भ्याक्सिन दिइसकेपछि भाईलहरु खोरभन्दा टाढा खाडलमा गाड्ने वा जलाउने गर्नुपर्छ ।


 
 
 

Comments


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square

© 2017 Madhyapaschim Poultry Diagnosis and Vet Pharma

bottom of page