top of page

स्वादिष्ट मासुका लागि लोकल कुखुराको व्यवसायिक पालन तरिका

१. जग्गा छनौट र खोर निर्माण

- व्यवसायिक रुपमा धेरै संख्यामा लोकल कुखुरा पाल्नको लागि उन्नत जातका कुखुरालाई जस्तै खोर निर्माण गर्नुपर्ने हुन्छ । खोर निर्माण बारे विस्तृत रुपमा बुझ्नको लागि "कुखुरापालनको लागि जग्गाको छनौट तथा खोर बनाउने तरिका" विषयक लेख पढ्न सक्नुहुनेछ ।

- खोर बाहिर कम्तिमा ५ फिट अग्लो जालीले बाउन्ड्री गरिएको घाँस र बुट्यान लगाइएको खुला जमिन पनि भएमा राम्रो हुन्छ । खुला छोडेर पालिएको लोकल कुखुराको मासु बोशो रहित, कसिलो र बढी स्वादिष्ट हुन्छ ।

- परम्परागत रुपमै सानो खोरमा सिमित संख्यामा मात्र पाल्ने हो भने पनि पर्याप्त मात्रामा भेन्टीलेशन पुग्ने गरी लोकल कुखुराको खोरको वनावटमा सुधार गर्नुपर्ने हुन्छ । सुली दिन दिनै सफा गरी सफा र ओभानो राख्नुपर्छ ।

२. ब्रुडिंग व्यवस्थापन

- उन्नत जातका कुखुरालाई जस्तै ब्रुडिंग गर्नुपर्ने हुन्छ । यसबारे विस्तृत रुपमा जान्नको लागि "खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम" विषयक लेख पढ्न सक्नुहुनेछ ।


३. क्षेत्रफल आवश्यकता

- प्रति वयस्क कुखुरा बराबर खोरभित्रको क्षेत्रफल २ वर्ग फिट उपलब्ध गराउनुपर्ने हुन्छ । ब्रुडिंग अवस्था देखि वयस्क अवस्था सम्म क्षेत्रफललाई कसरि क्रमिक रुपमा वृद्दि गर्दै लैजाने भन्ने बारेमा पनि "खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम" विषयक लेखमा उल्लेख गरिएको छ । खोर बाहिर कम्तिमा ५ फिट अग्लो जालीले बाउन्ड्री गरिएको घाँस र बुट्यान लगाइएको खुला जमिन पनि भएमा राम्रो हुन्छ । खुला छोडेर पालिएको लोकल कुखुराको मासु बोशो रहित, कसिलो र बढी स्वादिष्ट हुन्छ ।


४. दाना पानीको भाँडा आवश्यकता

- चिक फिडर ट्रे : ७५ चल्ला बराबर एउटा (सुरुको ५ दिन मात्र)

- चिक ड्रिंकर : ४० चल्ला बराबर एउटा (सुरुको पच्चीस दिन)

- चिक फिडर : ४० चल्ला बराबर एउटा (छैठौं दिनदेखि पच्चीस दिनसम्म)

- ठूलो ड्रिंकर : ५० कुखुरा बराबर एउटा (पच्चीस दिनपछि)

- ठूलो फिडर : ५० चल्ला बराबर एउटा (पच्चीस दिनपछि)


५. दाना व्यवस्थापन

- सुरुको २ हप्ता : B0 दाना

- तेस्रो र चौथो हप्ता : L1 वा B1 दाना

- पाँचौं हप्तापछि : K2 (क्रोइलरको ग्रोइङ्ग दाना) नभए L2 (लेयर्सको ग्रोइङ्ग दाना) । पछिसम्म व्रोइलरको दाना खुवाउँदा उत्पादन लागत अनावश्यक बढी हुन आउँछ ।

- महिना दिन भएपछी दिनको समयमा खोर बाहिर जाली बाउन्ड्री गरिएको परिसरमा छोड्ने । उक्त परिसरमा घाँस र बुट्यान लगाउने जसकारण कुखुराले छाहरी पाओस् । साथै बुट्यान तथा घाँस भएमा किरा-फट्यांग्रा आकर्षित हुन्छन जुन लोकल कुखुराको लागि गतिलो आहाराको श्रोत बन्नसक्छन । घाँस खुवाएर दाना लागतमा करिब २५ प्रतिशत कटौती गर्न सकिन्छ । रातको समयमा खोरभित्र बास बसाउने ।

- घरको भान्साबाट निस्कने तरकारी लगायत अन्य खाद्यवस्तुको रहलपहललाई लोकल कुखुराको आहाराको रुपमा प्रयोग गरी उत्पादन लागतमा व्यापक कटौती गर्न सकिन्छ ।


६. भ्याक्सिन तालिका

- छैठौं दिन – B1 भ्याक्सिन आँखामा थोपा

- बाह्रौँ दिन – IBD Intermediate Plus भ्याक्सिन आँखामा थोपा

- अठारौँ दिन – IBD Intermediate भ्याक्सिन आँखामा थोपा

- पच्चीसौँ दिन - Lasota भ्याक्सिन पिउने पानीमा वा आँखामा थोपा

- पैतालिसौँ दिन – Fowl Pox भ्याक्सिन पखेंटामा खोस्रेर

- पैसठ्ठीऔँ दिन – R2B भ्याक्सिन साप्राको मासुमा

- त्यसपछि प्रत्येक ४५ दिनको अन्तरमा Lasota भ्याक्सिन पिउने पानीमा वा आँखामा थोपा


७. जुकाको औसधि तालिका

- पाँच हप्ता उमेर भएपछी पहिलो डोज जुकाको औसधि चलाउने

- त्यपछि खुला छोड्ने कुखुरालाई प्रत्येक महिनाको अन्तरालमा खुवाईराख्ने

- पूर्णतया खोरभित्र पालिएको हो भने २ महिनाको अन्तरालमा खुवाउने

- जुकाको औसधि चलाउँदा सधैभरी एकै किसिमको औसधि मात्र नचलाएर Albendazole, Piprazine र Levamisole लाई चक्रिय प्रणालीमा चलाउनु उपयुक्त हुन्छ ।


८. चुच्चो व्यवस्थापन

- चल्लाको उमेर ९-१० दिन हुँदाखेरि चुच्चो डाम्दा (Beak Touching) उपयुक्त हुन्छ ।

- ठुलो भएपछी खोर बाहिर छोडेर पाल्ने हो भने चुच्चो नकाटेपनि हुन्छ । तर यदी बन्द खोरमै पाल्ने हो भने लेयर्स कुखुरामा जस्तै ठुगाठुंगको समस्या देखिन सक्ने भएकाले भ्याक्सिन दिएको एक हप्तापछि करिब ५०-५५ दिनतिर डिबिकर मेसिनको सहायताले चुच्चो काट्दा (Debeaking) उपयुक्त हुन्छ ।


९. अन्य जानकारी

- कुखुरालाई लामखुट्टे झिंगा र भुसुनाबाट वचाउनका लागि खाली खोरमा निम, तुलसी र सुर्तीको पातको धुंवा दिन सकिन्छ ।

- कुखुरालाई २४ सै घण्टा सफा भांडामा सफा पिउने पानीको ब्यवस्था गर्नुपर्छ । रोगको रोगथामको लागि पिउने पानीमा थोरै वेसार अथवा पोटास मिलाउनु उपयुक्त हुन्छ ।

- जाडो र वर्षातको समयमा कुखुराको खानामा लसुन र गर्मीको समयमा खानामा मसिनो गरी प्याज काटेर मिसाउदा कुखुराको प्रतिरोध क्षमता उच्च रहन्छ।

- लोकल कुखुरालाई निम्न किसिमको खानाको उपलब्धता गराउन सकिन्छ :

१. टुक्राईएको मकै, चामलको कनिका, गहुंको चोकर, कोदो ईत्यादि (शक्तिको लागि) ।

२. किरा, फट्यांग्रा, लार्भा (शारीरिक बृद्धिको लागि) ।

३. हरियो घांसपात जस्तै वदामे घांस, सागपात, मसिना ढुंगा तथा हड्डीका टुक्राहरु, शंखे किराका खपडाहरु (पाचन प्रणालीमा सुधार तथा रोग संग लड्न सक्ने क्षमता विकासका लागि)

- जुकाको औषधि खुवाएको हप्ता-दश दिनपछि मात्र कुखुराको रानीखेत र विफर (Fowl Pox) रोग विरुद्धको खोप लगाउन उपयुक्त हुन्छ ।


नोट : हुन त लोकल कुखुरालाई अण्डा उत्पादन गर्ने हेतुले पनि पाल्न सकिन्छ । तर लोकल कुखुराका पोथी कमर्सियल लेयर्सका पोथी जस्ता उत्पादनशील भने हुदैनन् । लोकल कुखुराद्वारा उत्पादित अण्डालाई कमर्सियल लेयर्सद्वारा उत्पादित अण्डा भन्दा फरक भाउ (यथोचित बढी) मा बिक्रि गर्न सकेको खण्डमा मात्रा लोकल कुखुराबाट अण्डा उत्पादन गर्ने व्यवसाय नाफामुलक हुनसक्छ । लोकल कुखुराको मासुमा पाइने तिख्खर स्वादप्रति ठूलो आकर्षण रहेकोले मासुको लागि लोकल कुखुरालाई व्यवसायिक ढंगबाट पालन गरेर आय-आर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यस लेखमा मासु उत्पादन गर्ने हेतुबाट लोकल कुखुरालाई कसरि व्यवसायिक ढंगबाट पाल्न सकिन्छ भन्ने पक्षलाई उजागर गर्न खोजिएको छ । विस्तृत सम्पर्क / जानकारीको लागि https://madhypaschim.wixsite.com/poultry/localfarmer l


सन्दर्भ सामाग्री :

१. Heifer International द्वारा लमहीमा राखिएको जानकारीमुलक Hoarding Board

२. लोकल कुखुरा व्यवसायी हेमन्त के. सी. (9822561415), गिरिराज रेग्मी र डा. विवेक बन्धु रेग्मीको पालन व्यवस्थापन सम्बन्धि अनुभव


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
No tags yet.
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square
bottom of page