top of page

गुणभित्र अण्डा पार्न लेयर्स तथा प्यारेन्ट पोथीलाई कसरी प्रेरित गर्ने?

खोरभित्र अण्डा पारेको स्थानको आधार लेयर्स तथा प्यारेन्ट फार्मबाट प्राप्त गरिने अण्डालाई यसरी वर्गिकरण गर्न सकिन्छ ।

  • एक– नेस्ट एग (Nest egg) अर्थात् गुणमा पारेको अण्डा

  • दुई– फ्लोर एग (Floor egg) अर्थात् भुईमा पारेको अण्डा

भुईमा पारिएको अण्डाको बेफाईदा

पोथी कुखुराले जतिसक्दो धेरै संख्यामा अण्डा गुणमा पार्नु नै किसानको लागि लाभदायक हुन्छ किनभने भुईमा पारिएको अण्डाको निम्न बेफाईदा हुन्छन् ।

१. अण्डा टिप्नको लागि धेरै जनशक्ति खर्चिनु पर्ने ।

२. भुईको फोहर तथा सुली टाँसिएर संक्रमणको कारणले ह्याचिंग अण्डाको गुणस्तर न्यून हुनु ।

३. ह्याचविलिटी घट्नु ।

४. उक्त अण्डाबाट ह्याच भई निस्केको चल्लाको गुणस्तरमा ह्रास आउनु ।

५. लेयर्स फार्मबाट निस्किने टेबल एग अर्थात् कमर्सियल खाने अण्डाको गुणस्तरमा छिट्टै ह्रास आउनु ।

६. अण्डा भण्डारण गर्न सकिने अवधि कम हुनु किनभने यस्ता अण्डा धेरै समय भण्डारण गर्दा कुहिने सम्भावना बढी हुन्छ ।

७. फोहरको कारणले टेबल अण्डा आकर्षक नदेखिनु, फलस्वरूपस् अण्डा उत्पादक किसानले अण्डाको उचित मुल्य प्राप्त गर्न नसक्नु ।

पोथीलाई गुणमा जान प्रेरित गर्ने उपायहरु

हुन त शत प्रतिशत अण्डा गुणमा पारेको भेट्टाउनु लगभग असम्भवप्राय नै छ तथापि केहि व्यवस्थापकीय पक्षहरुमा ध्यान दिने हो भने पोथीले भुईमा पार्ने अण्डाको प्रतिशतमा व्यापक कटौती गर्न सकिन्छ जसबारे यहाँ सम्क्षिप्तमा वर्णन गर्न खोजिएको छ ।

  • अण्डा पार्न थाल्नुभन्दा करिब एक हप्ता अगाडिदेखि नै पोथीले गुणको खोजि गर्न थाल्छे जुन खोरमा गुण राख्ने वा पहिले नै राखिसकेको भए गुणको ढोका (ढोका खोल्ने वाला गुणको हकमा) खोल्ने उपयुक्त समय हो । अण्डा पार्न सुरु गरिसकेपछि गुण राख्दा वा गुणको ढोका खोल्दा ढिलो भैसकेको हुन्छ भने धेरै नै अगाडी राख्दा वा खोल्दा पनि कालान्तारमा त्यसप्रति अरुचि विकास हुने सम्भावना रहन्छ । पोथीले भुईमा अण्डा पार्ने बानि बसिसकेपछि फेरी गुणमा अण्डा पार्ने बानि बसाल्न निकै नै अफ्ठ्यारो हुन्छ ।

  • पोथीलाई उफ्रेर गुणसम्म चढ्नको लागि तालिम प्राप्त होस् भन्नको लागि ३ देखि १० हप्ताको सानो उमेरदेखि नै खोरभित्र उचित आकारको टेको (Perch) राख्न सकिन्छ ।

  • विहान अण्डा पार्ने समयमा खोरमा काम गर्ने कामदारलाई धेरै पटकसम्म बिस्तारै खोरको एक छेउ देखि अर्काे छेउसम्म ओहोर–दोहोर गर्न लगाउने । यसले गर्दा भुईमा भएका पोथीहरु गुणतिर जान प्रेरित हुन्छन् ।

  • सोहि हिड्ने क्रममा नै भुईमा पारिएका अण्डालाई टिपेर गुणभित्र राख्दै जाने । भुईमा हुने अण्डाले पोथीलाई फेरी पनि भुईमा नै अण्डा पार्न आकर्षित गर्छ । तसर्थ भुईमा पारिएका अण्डालाई जतिसक्दो छिटो टिप्ने गर्नुपर्छ ।

  • त्यस्तै हिड्दै जाने क्रममा अध्यारो कुना–काप्चामा बसेका पोथीलाई टिपेर गुणमा राखिदिने ।

  • विहान दाना छिट्टै नै दिईसक्नुपर्छ ताकि दाना खाने र अण्डा झार्ने समय जुध्न नजाओस् । यदि सो दुई समय जुध्न गएमा धेरै अण्डा भुईमा नै खस्न जान्छ किनभने दाना खाँदा कुखुरा भुईमा फिडरको नजिक हुन्छ ।

  • दाना खाइसकेपछि तुरुन्त दानाको भाँडा उठाउनुपर्छ । किनभने दानाको भाँडामुनि हुने अध्यारो स्थानमा बस्न र अण्डा पार्न पोथी कुखुरा सजिलै आकर्षित हुनसक्छे ।

  • आवश्यकता भन्दा बढी पानि खाएर सोत्तर चिसो नबनोस् भन्नको लागि प्यारेन्ट कुखुरामा पानि नियन्त्रण (Water restriction) कार्यक्रम लागु गर्ने गरिन्छ । यसो गर्दा दाना खाने र अण्डा पार्ने समयमा पोथीलाई पानिको अभाव नहोस् भनि सचेत हुनुपर्छ । अन्यथा प्यास मेटाउनको लागि पोथी भुईमा भौतारिन सक्छे र भुईमा नै अधिक संख्यामा अण्डा खस्न सक्छ । विहानपख वत्ति संगसंगै पानि पनि खोलिदिनुपर्छ । दाना खाईसकेर अण्डा पार्ने सक्रिय अवधिभर पानि खोलिएको हुनुपर्छ ।

  • खोरमा पर्याप्त संख्यामा गुण भएन भने पनि भुईमा झर्ने अण्डाको संख्या बढ्न जान्छ । प्रति मिटर गुण लम्बाई बराबर ८० देखि ९० पोथी हुनेगरी गुणको साईज र संख्या निर्धारण गरि खोरमा राख्नुपर्छ ।

  • भुईमा सोत्तरको रुपमा राकिने चिज नै गुणको सोत्तरको रुपमा प्रयोग गर्न सकिन्छ । जस्तैः घानको भुस, काठको धुलो आदि । प्रत्येक दुई–तीन दिनको अन्तरालमा गुणभित्रको सोत्तर जाँच गर्ने र यदी फोहर भएको भए नयाँ राख्ने गर्नुपर्छ । फोहरको कारणले पोथीलाई गुणप्रति अरुचि विकास हुनसक्छ ।

  • गुणभित्र राखिने सोत्तर पर्याप्त हुनुपर्दछ ताकि पोथीको खुट्टालाई कुसन प्रदान गरोस् । गुणमा हुने सोत्तरमा पर्याप्त कुसन भएमा पोथी गुणप्रति आकर्षित हुन्छे ।

  • पोथीले अण्डा पार्न थाल्ने वित्तिकै दैनिक ६ देखि ८ पटक अण्डा टिप्ने । पोथीले गुण खोजिरहेको बेलामा भुईमा अण्डा देखेमा गुणमा जाने बानि बसाल्न बाधक सिद्द हुन्छ ।

  • खोरको कुना–काप्चामा (जहाँ अँध्यारो हुन्छ) पोथीलाई जान नमिल्ने बनाउने । किनभने अँध्यारो ठाउँमा अण्डा पार्न पोथी आकर्षित हुन्छे । बरु सम्भव भएमा गुणलाई नै त्यस्तो ठाउँमा राखिदिने ।

  • गुणमा अँध्यारो पर्ने व्यबस्था मिलाउन सके झनै राम्रो हुन्छ । यसको लागि पर्दाको प्रयोग गर्न सकिन्छ ।

  • खोरभित्र उचित तापक्रम र आद्रताको सन्तुलन नभएको खण्डमा पनि पोथीलाई गुणभित्र बस्न अरुचि हुन्छ । तसर्थ खोरमा उचित तापक्रम र आद्रता कायम गर्ने कुरामा सजग हुनुपर्छ ।

  • त्यस्तै जाडोयाममा चिसो हावा सिधा गुणभित्र नपस्ने गरि व्यवस्था मिलाउनुपर्छ ।

कमर्सियल लेयर्स कुखुरापालक किसानले फोहोर अण्डाको कारणले उत्पादन अनुरुप पाउनुपर्ने उचित भाउ पाउन सकेका हुदैनन् । त्यस्तै फोहोर अण्डाको कारणले ह्याचरी कम्पनिको ह्याचविलिटी र चल्लाको गुणस्तर खस्किएको हुन्छ । एउटा व्यवसायिक फार्मले केहि प्रतिशत मात्र फोहोर अण्डाको संख्या घटाएर सफा अण्डाको संख्या बढाउन सकेको अवस्थामा बर्षभरीको मुनाफामा लाखौ रुपैया थपिन सक्छ । तसर्थ उत्पादन अनुरुपको उचित आर्थिक मुनाफा कमाउनको लागि किसानवर्गले माथि उल्लेख गरे बमोजिम फ्लोर एग (भुईमा पारिने अण्डा) को संख्या कटौती गर्ने र नेस्ट एग (गुणमा पारिने अण्डा) को संख्या वृद्दि गर्ने व्यवस्थापकीय कौशलता अवलम्बन गर्नुपर्छ ।


Commentaires


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
No tags yet.
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square
bottom of page