कुखुरामा माइकोटक्सिसिटी: कारण, असर र व्यवस्थापन
के हो माइकोटकसिन ?
कुखुराको दाना बनाउदा प्रयोग गरिने मकै, भटमास पिना, ढुटो, सूर्यमुखी पिना जस्ता कच्चा पदार्थमा वा तयार भैसकेको दानामा लाग्ने ढुसीबाट उत्पादन हुने विषाक्त पदार्थ हो माइकोटक्सिन । माइकोटक्सिन निम्न प्रकारका हुन्छनः
१) अफलाटक्सिन,
२) ओकराटक्सिन,
३) ट्राईकोथेसेन्स,
४) फुमोनिसिन्स आदि ।
ढुसी कसरि लाग्छ ?
दानामा ढुसी दुई तरिकाले लाग्छ :- १) खेतवारिमै कच्चा पदार्थ उत्पादन गर्ने विरुवामा परजिवीको रुपमा लाग्छ र २) अनाज (कच्चा पदार्थ) तथा दाना भन्डारणको क्रममा लाग्छ ।
कुखुराको शरीर भित्र ढुसीले कसरि प्रवेश गर्छ ?
कुखुराको शरीर भित्र निम्न चार तरिकाबाट ढुसी प्रवेश गर्छ :-
१) खेतवारिमै ढुसी लागिसकेको अनाज दानाको कच्चा पदार्थको रुपमा प्रयोग गरेमा ।
२) भन्डारणको क्रममा ढुसि लागेको अनाज दाना बनाउन प्रयोग गरेमा वा बनिसकेको दानाको भण्डारण ठीकसँग नगरेमा ।
३) दानाको भाँडामा अनावश्यक रुपमा धेरै दाना राखेमा ।
४) कुखुराको स्वास नली वा आन्द्रामा सिधै ढुसीले आक्रमण गरेमा ।
नोट :- माथिको नम्बर १, २ र ३ तरिकाबाट ढुसीको प्रवेश कुखुरामा भयो भने कुखुरामा यस्ता किसिमका नकारात्मक असरहरु देखिन सक्छ, जुन माइकोटक्सिनको कारणले हुन्छ । र यसैलाई माइकोटक्सिसिटी भनिन्छ । माइकोटक्सिसिटीलाई ढुसीजन्य रोग भनेर चिनिन्छ । पोल्ट्री क्षेत्रमा माइकोटक्सिसिटीलाई छोटकरीमा टक्सिसिटी भनेर चिन्ने चलन पनि छ । तर यथार्थमा टक्सिसिटी भन्नाले ढुसीजन्य विषाक्तता मात्र नभएर अन्य विविध कारणले हुने विषाक्तता पनि हो भन्ने बुझिन्छ ।
माइकोटक्सिसिटीको कारणले कुखुरापालन व्यवसायमा उब्जने प्रमुख समस्या निम्न अनुसार हुनः
१) माइकोटक्सिन नामक विषाक्त पदार्थको उत्पादन र विषाक्तताको कारणले शरीरका कोष र तन्तुहरु ध्वस्त हुने प्रक्रिया ।
२) दानाको पौष्टिक शक्तिमा ह्रास ।
३) कुखुराले खाइसकेको पौष्टिक तत्व पनि शरीरमा राम्रोसँग प्रयोग गर्न नसक्नु ।
४) कुखुरामा रोग प्रतिरोधात्मक शक्ति कमजोर भई अन्य विभिन्न रोगव्यादिले आक्रमण गर्नु र मृत्युदर धेरै हुनु ।
कुखुराको स्वास नली वा आन्द्रामा सिधै ढुसीले आक्रमण गरेको खण्डमा ढुसीको आक्रमणले देखाउने असर भनेको ढुसीबाट उत्पादित माइकोटकसिनको नभएर ढुसी स्वयंको हो जसलाई एस्परजिलोसिस भनिन्छ ।
कुखुरामा माइकोटकसिन विषाक्तताको कारणले देखिने असरहरु कस्ता हुन्छन ?
ब्रोइलरमा शारीरिक बृद्दी कम हुने र लेयर्समा अण्डा उत्पादन घट्ने हुनाले कृषकलाई ठुलो आर्थिक क्षति हुन्छ । माइकोटक्सिसिटी लागेका कुखुराहरुले निम्न लिखित लक्षणहरु देखाउछन : शारिरीक तौल अत्याधिक कम हुनु, सुली पातलो हुनु । कलेजोमा बोशो जम्नु र रक्तश्राव पनि देखिनु । अण्डा उत्पादन घट्नु साथै अण्डाको बोक्रा पातलो र कमजोर हुनु । शरीरमा राम्रोसंग प्वाख लाग्ननसक्नु र छाला फुस्रो हुनु । टिबिया नाम गरेको खुट्टाको हड्डी बांगिनु । कलेजोको कोष र तन्तुहरु मर्नु र मरेको ठाउँमा दाग देखिनु । ठुड, मुख र दाना नलीको छेउछाउमा घाउको खत देखिनु । इन्फ्लामेशन भई कलेजो, मृगौला र फियोको आकार बढ्नु । रक्तअल्पता हुनु । रोग प्रतिरोधात्मक शक्ति घट्नु, विभिन्न रोगहरुले सजिलै आक्रमण गर्नसक्नु । अन्डाबाट चल्ला निस्कने प्रतिशत (ह्याचविलिटी) घट्नु । बर्साको आकार घट्नु । आन्द्रामा इन्फ्लामेशन हुनु र सेकेण्डरी ब्याकटेरियल संक्रमण हुनु । माइकोटक्सिसिटीको कारणले मृगौलाको कोष र तन्तु ध्वस्त भई रगत छान्ने र पिसाब फाल्ने प्रक्रियामा नै बाधा उत्पन्न हुनसक्छ । फलस्वरूप गाउट र एसाइटिस जस्ता समस्या देखिनसक्छ ।
माइकोटक्सिसिटीको व्यवस्थापन कसरि गर्ने?
निम्न दुई तरिकाबाट माइकोटक्सिसिटीको व्यवस्थापन गर्न सकिन्छ ।
रोकथामा (कुखुरालाई रोग नै लाग्न नदिनु)
उपचार (रोग लागिसकेपछि कुखुरालाई रोगको असरबाट बचाउनु)
रोकथाम
रोकथामको लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।
क) दानाको कच्चा पदार्थ रुपी अन्न (मकै, भटमास, सुर्यमुखी आदि) उत्पादन गर्ने कृषकले ख्याल गनुपर्ने कुराहरु :
१) विरुवा पूर्ण रुपमा तयार भएपछी मात्र अन्न भित्राउने, अर्थात कलिलो विरुवाबाट अन्न फसल नलिने ।
२) किरा, रोग र भौतिक कारणले कम क्षति नहुने खालको उच्च नश्लको विरुवा लगाउने ।
३) विरुवाबाट अनाज छुट्याउदा र अनाज भित्राउदा अनाजको गेडामा कम भन्दा कम क्षति हुने गरेर काम गर्ने ।
४) भर्खरै विरुवाबाट छुट्याएको अनाजलाई कम्तिमा १५ प्रतिशत जलाम्श (मोइस्चर) नहुदासम्म घाममा सुकाउने ।
५) त्यसपछि केहीबेर अनाजको तापक्रम ३६ देखि ४१ डिग्री फरेनहाइट नहुदासम्म सेलाउन दिने ।
६) अनाज भण्डारण गर्दा हावा नपस्ने खालको कुनै भाँडा वा अन्य संरचनामा भण्डारण गर्ने । र १ देखि ४ हप्ताको अन्तरालमा हावा पस्न दिने वा बाहिर फिजाउने ।
ख) दाना उत्पादक उद्योग वा कम्पनिले ख्याल गनुपर्ने कुराहरु :-
१) दानामा प्रोटिनको मात्र बढाउदा राम्रो हुने, तर यसो गर्दा दाना महँगो पर्न जाने हुन्छ ।
२) दानामा मेथियोनिन को मात्र बढाउने ।
३) दानामा लिनोलेनिक एसिड अर्थात लिपिड को मात्रा बढाउने ।
४) भिटामिनको मात्रा पनि बढाउने ।
५) एन्टीअक्सिडान्टको प्रयोग अघिपछी भन्दा बढी मात्रामा गर्ने ।
६) मास दाना भन्दा पेलेट दानामा माइकोटकसिनको मात्रा कम हुन्छ ।
७) मास दानालाई स्टिम ट्रीटमेन्टको प्रविधि प्रयोग गरि उत्पादन गरेर माइकोटक्सिनको मात्रा घटाउन सकिन्छ ।
८) प्रोपायोनिक एसिड, एसिटिक एसिड, फ्युमारिक एसिड, सोरबीक एसिड, बेनज्वाइक एसिड, कप्पर सल्फेट, थाएबेन्डाजोल, क्याल्सियम प्रोपायोनेट, जेन्टियन भ्वैलेट आदि जस्ता ढुसी प्रतिरोधक औसधिहरु प्रयोग गर्ने । दानामा जैबिक अम्लको प्रयोगले पाचन प्रणालीमा अम्लको मात्रा बढ्ने र पिएच कम हुने हुदा ढुशी तथा अन्य जीवाणु त्यस्तो बातावरणमा हुर्कन सक्दैनन ।
९) एड्जोर्बेन्ट्सहरुको प्रयोग गर्ने, जस्तै एचएससीएएस, जिओलाइट, बेन्टोनाइट, एक्टीभेटेड चारकोल आदि ।
१०) दानामा युटिटिपी—एस, आलुसिल—मोस, निलटक्स र बायोबेनटक्स जस्ता टकसिन बाइनडर को प्रयोग गर्ने ।
११) कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाउँन भिटामिन ए, ई र सेलेनियमको मात्रा बढाउने ।
१२) ढुसीले अत्याधिक संक्रमण गरेको कच्चा पदार्थको प्रयोग नै नगर्ने ।
१३) धेरै जलाम्श भएको कच्चा पदार्थको प्रयोग नगर्ने । किनभने अधिक जलाम्श ढुसीको जननी हो । जलाम्श धेरै भएको कच्चा पदार्थलाई सुकाएर जलाम्शको मात्रा घटाई प्रयोग गर्न सकिन्छ ।
१४) किराले नखाएको कालो निलो कुनै दाग नभएको अन्न दानाको लागि छनौट गर्नु उचित हुन्छ ।
१५) कच्चा पदार्थ अन्यत्रबाट ल्याइसकेपछि फ्युमिगेसन गर्नुपर्छ । फ्युमिगेसन गरिसकेपछि मात्र दाना बनाउन प्रयोग गर्नुपर्छ । प्रति १०० क्युबिक फिटमा ६० ग्राम पोटासियम परम्याग्नेट र १२० मिलिलिटर फर्मालिनको दरले फ्युमिगेसन गर्नुपर्छ ।
१६) दाना बनाउँदा ल्याकटोव्यासीलस एसीडोफिलस, ल्याक्टोव्यासीलस प्लानटारम जस्ता प्रोबायोटिकको प्रयोगबाट पनि ढुशीजन्य विषाक्तको कुप्रभाव न्यूनीकरण गर्न सकिन्छ ।
१७) आहारामा र कोलीन ल्कोराइड र भिटामिन बि कमप्लेक्स दिदा ढुशीजन्य विषाक्तको असर न्यूनीकरण गर्न उत्साहजनक परिणाम देखिएको छ ।
१८) दानामा इस्टेरीफाइड ग्लुकोमान्सको प्रयोगले धेरै खाले ढुशीजन्य विषाक्तहरुलाई आफुसँग बाध्छ । यिनीहरुले कलेजोमा अत्याधिक बोसो जम्न गएको खण्डमा बोसो पगाली कलेजोलाई पहिलेकै अवस्थामा पुर्याउने क्षमता पनि हुन्छ ।
१९) खुला हावा लाग्ने स्थानमा सूर्यको किरण पर्ने गरी अन्न तथा अन्न जन्य उत्पादनलाई सुकाउदा केहि मात्रा ढुशीजन्य विषाक्त न्यूनिकरण भएर जान्छ ।
ग) कुखुरापालक किसानले ध्यान दिनुपर्ने कुराहरु :-
१) दाना धेरै समयसम्म भण्डारण नगर्ने । एक लटमा सात दिनको लागि पुग्ने दाना मात्र राख्ने ।
२) दाना भण्डारण गर्दा दानामा ओशिलोपना कम हुनेगरि भण्डारण गर्ने । जस्तै :- दानालाई सिधै तल भुइको र छेउमा भित्ताको प्रत्यक्ष सम्पर्कमा नल्याउने । भुइमाथी १ फिट उचाई सम्म ठुलाठुला काठका फलेक राखेर त्यसमाथि दानाको बोरा राख्दा उपयुक्त हुन्छ ।
३) वर्षायाममा पर्नसक्ने छड्के पानीबाट दानाको बोरालाई जोगाउने ।
४) दाना भण्डारण कक्षमा हावाको राम्रो संचारको लागि झ्यालको व्यवस्था हुनुपर्ने ।
५) पानि चुहिने वा छिटा पस्ने वा ओष लाग्ने स्थानमा दाना भण्डारण गर्नु हुदैन ।
६) उज्यालो, सफा, खुला, ओष नलाग्ने, पानीले नभिज्ने र घामको सिधा ताप नपर्ने ठाउँमा दाना भण्डारण गर्नुपर्छ । घाममा राख्दा दाना तातेर ज्यादै फुक्का भई धुलो उड्ने र दानामा भएको भिटामिन र लवण तत्व नष्ट हुने हुन्छ ।
७) कुखुराको खोर भित्रै दाना भण्डारण गर्नु उपयुक्त हुदैन । खोर भित्रको उच्च आद्रताले गर्दा दाना छिटै नै बिग्रने र ढुसी लाग्ने जोखिम उच्च रहन्छ ।
८) दानाको भाँडामा एकैचोटी अत्याधिक मात्रामा दाना नराख्ने । प्रत्येक पल्ट दानाको भाँडामा दाना राख्दा त्यसअगाडी राखिएको दाना पूर्ण रुपले खाइसकेको हुनुपर्छ । यदि दाना खाईनसक्दै दानामाथी दाना दिएमा कुखुराले माथिको मोटो दानामात्र खाने र तलको मसिनो दाना नखाने समस्या उत्पन्न हुन्छ । दानाको मसिनो धुलोमा भिटामिन र मिनरल जस्ता पौष्टिक तत्व हुने हुदा कुखुरा कुपोषणको शिकार हुन्छ । साथै धेरै दिनसम्म नखाएको दानामा ¥याल, भुष र सुली मिसिएर डल्लो पर्ने, ढुसी उत्पन्न हुने र गन्ध आउने हुन्छ । यस्तो दाना खुवाएमा माइकोटक्सिसिटी र अन्य संक्रामक रोग लाग्न सक्छ ।
९) बेलाबेलामा दानापानीको भाँडा सफा गरिराखने । अन्यथा भाँडामा समेत ढुसी पलाउँन सक्छ ।
१०) खोरमा प्रयाप्त मात्रामा भेन्टीलेशनको व्यवस्था हुनुपर्ने । अन्यथा खोरमा आद्रता को मात्र धेरै भई दानाको भाँडामा ढुसी उत्पन्न हुनसक्छ ।
११) सोत्तरमा दानापानि चुहिन नदिने । चुहिएको खण्डमा तुरुन्त सफाई गर्ने । अन्यथा ढुसी उत्पन्न हुनसक्छ ।
१२) एस्परजिलस भन्ने ढुसी पैदा हुन नदिनको लागि सोत्तरमा ०.५ देखि १ प्रतिशत पेन्टाक्लोरोफेनोल वा सोडियम पेन्टाक्लोरोफेनोल प्रयोग गर्नसकिन्छ ।
१३) वर्षातको समयमा पानि छलेर वा प्लास्टिकले छोपेर दाना ढुवानी गर्नुपर्छ । दाना भिजेमा डल्लो पर्ने, पौष्टिक तत्व नष्ट हुने र ढुसी पलाई विषाक्त हुने समस्या पैदा हुन्छ ।
१४) दानाको बोरा एउटा चाङ्ग देखि अर्काे चाङ्ग बीच केहि दुरी कायम रहने गरि भण्डारण गर्ने ताकि सबै बोराले स्वच्छ हावाको वहाव प्राप्त गरोस ।
१५) दाना भण्डारण गर्दा चौतर्फिको भित्ता भन्दा १ फिट दूरीमा राख्नुपर्छ ताकि भित्ताको ओष नलागोस र हावाको वहाव पनि राम्रो होस ।
१६) दानामा ताप उत्पन्न र ढिक्का हुन नदिनका लागि एक ठाउँमा ५ बोरा भन्दा ज्यादा थाक नलाउनु राम्रो हुन्छ ।
१७) जहिलेपनि फरक वर्गको दाना छुट्टाछुट्टै राख्नुपर्छ र पहिला आएको दाना पहिले चलाउनु पर्दछ (फस्र्ट इन फस्र्ट आउट सिस्टम) । एकचोटी खोलिसकेको दानाको बोरा एक हप्ता भित्रमा चलाईसक्दा उपयुक्त हुन्छ ।
नोट :- दाना उत्पादन गर्ने कम्पनीले दानाको कच्चा पदार्थ भण्डारण गर्दा पनि कुखुरापालक किसानले दाना भण्डारण गर्दा अपनाउनुपर्ने जस्तै विधि र सावधानी अपनाउनुपर्छ । किनभने कच्चा पदार्थको भण्डारण उचित किसिमको हुन सकेन भने पनि ढुसीको संक्रमण भई माइकोटक्सिसिटी हुनसक्छ ।
उपचार
भेटेरिनरी डाक्टरको सल्लाह बमोजिम विभिन्न औसधिको प्रयोग गरेर माइकोटक्सिसिटी रोग लागेको कुखुराको मृत्युदर घटाउन सकिन्छ र उत्पादन बढाउन सकिन्छ । तर उपचारमा भर पर्नु भन्दा कुखुरालाई माइकोटक्सिसिटी हुन नदिनु नै उपयुक्त विकल्प हो । नेपालको पोल्ट्री क्षेत्रमा प्रायगरी रोगको रोकथामको लागि बेवास्ता गर्ने अनि रोग लागेपछि अन्धो भएर भेटेरिनरी डाक्टरमा निर्भर हुने गलत संस्कार बसेको छ । डाक्टरी सल्लाहको भूमिका खाली रोगको उपचारमा मात्र नभएर रोकथाममा बढी केन्द्रित हुनसक्यो भने पोल्ट्री व्यवसाय बढी भन्दा बढी नाफामूलक हुनसक्छ ।
Comments