खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम
चल्लाको स्वास्थ्य धेरै हदसम्म खोरको सरसफाई र स्वच्छतामा निर्भर हुन्छ । ह्याचरीबाट भर्खरै मात्र खोरमा ल्याइएको चल्लाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । यस्तो अवस्थामा किटाणुसँग सम्पर्कमा आउनसाथ रोग लाग्ने जोखिम उच्च रहन्छ । अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएका हुन्छन । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यसरी एकै खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा गरिने खोरको विशेष प्रकारको सरसफाईलाई कम्प्लिट हाउस क्लिन आउट (Complete house clean out) भनिन्छ । नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै निम्न अनुसारको काम गर्नुपर्छ ।
कम्प्लिट हाउस क्लिन आउट
कम्प्लिट हाउस क्लिन आउट प्रकृयाको केहि महत्वपूर्ण चरणहरु निम्न अनुसार छन Dry cleaning, Wet cleaning, Heat treatment, Chemical treatment, White wash र Terminal disinfection.
खोरमा भएको भाँडाकुँडा, फिडर, ड्रीङ्कर, पर्दा लगायतका सबै सरसामाग्री हटाउने । इक्युपमेन्टका पाठपुर्जा खोल्ने । हटाइएको भाँडाकुँडालाई पहिला पानीको फोहोराको सहायताले ब्रसले घोट्दै सफा गर्ने । त्यसपछि सर्फ पानीले सफाई गर्ने र घाममा सुकाउने । खोरमा पुन जडान गर्न अगाडी एकपल्ट फर्मालिन वा अन्य कुनै निसंक्रमण झोल छर्केर मात्र पुनः जडान गर्ने ।
पुरानो सोत्तर, माकुराको जालो, पोखिएका भुस तथा दाना लगायतका सबै अर्गानिक फोहोर हटाई खोरबाट टाढा लागि राख्ने वा मलको रुपमा प्रयोग गर्ने । हटाउन अगाडी अर्गानिक फोहोरलाई ५ देखि १० प्रतिशत फर्मालिनले छिट्दा उपयुक्त हुन्छ ।
पानीको प्रयोग नगरी पहिला झाडु वा कुचोले खोरको सफाई गर्ने । भुईमा टासिएको फोहोरलाई हटाउन ब्रसले वा अन्य कुनै उपयुक्त धातुले घोटेर वा खुर्केर हटाउने । यो विधिलाई ड्राई—क्लिनिङ्ग (Dry Cleaning) भनिन्छ ।
खोरमा भएका टुटफुट तथा बिग्रेको—भत्केको कुराको पुनःनिर्माण गर्ने । चर तथा प्वाललाई बन्द गर्ने ताकि मुसा, चरा आदी पस्न नसकोस ।
५ देखि १० प्रतिशत सोडियम हाइपोक्लोराईटको झोल पानि पाईप तथा ड्रममा रातभरी रहने गरि राख्ने र भोलिपल्ट सफा पानी प्रयोग गरेर फ्लस गर्ने । अथवा १ लिटर हाईड्रोजन परोकसाईड (५०%) १० लिटर पानिको दरले पनि प्रयोग गर्न सकिन्छ । पानिको पाईप लाईनको प्रभावकारी सफाईको लागि बजारमा पाराएसिटिक एसिड, एसिटिक एसिड, हाइड्रोजन परोक्साइड, सल्फुरिक एसिड र स्टेबलाईजर जस्ता रसायनहरूको मिश्रण भएको सुपेरोक्स (Superox), सीआईडि २००० (CID 2000), र एक्वाम्याक्स (Aquamax) जस्ता औसधि उपलब्ध छन ।
सादा पानीको फोहोराले क्रमश खोरको सिलिङ्ग, भित्ता र भुई सफा गर्ने । हाई प्रेसर वासरको प्रयोग गर्ने । भुई सफा गर्दा रातभरि पानीले भिजाउने र भोलिपल्ट सफा गर्ने । त्यसपछि सर्फ पानीले भुई सफा गर्ने । यो विधिलाई वेट क्लिनिङ्ग (Wet Cleaning) भनिन्छ ।
सम्भव भएसम्म फ्लेम गन वा आगोको ज्वालाले खोरको सतह डढाउने । यो विधिलाइ हिट ट्रीटमेन्ट (Heat Treatment) भनिन्छ ।
वासिङ्ग सोडा ४० ग्राम प्रति लिटर पानिको दरले छिट्ने । १००० वर्ग फिट क्षेत्रफलको लागि २ केजी वासिङ्ग सोडा र ५ लिटर पानि आवश्यक पर्दछ । कास्टिक सोडा २० ग्राम प्रति लिटर पानीको दरले छिट्ने । १००० वर्ग फिटक्षेत्रफलको लागि १ केजी कास्टिक सोडा र ५ लिटर पानि आवश्यक पर्दछ । यो विधिलाई केमिकल ट्रीटमेन्ट (Chemical Treatment) भनिन्छ । काष्टिक सोडा प्रयोग गर्दा हातमा पन्जा लगाएर मात्र प्रयोग गर्ने ।
त्यसपछि किटनाशक औषधि (जस्तै, साइथिओनः ८—१६ एमएल प्रति लिटर पानि) ले भुई र भित्तालाई छर्किने । कुखुरा हटाउने वित्तिकै र सोत्तर नहटाउदै पनि एकपटक किटनाशक औसधि छर्किनु उपयुक्त हुन्छ ।
५ केजी चुना, १ लिटर मट्टीतेल, १ केजी निलोतुथो (कप्पर सल्फेट), १ केजी नुन, १ केजी ब्लिचिंग पाउडर र आधा लिटर फर्मालिन १०० लिटर पानीमा मिसाएर १००० वर्ग फिट खोर क्षेत्रफललाई पोत्ने । यो विधिलाई ह्वाईट वाश (White Wash) भनिन्छ ।
२०० ग्राम पोटासियम परम्याग्नेट र ४०० एमएल फर्मालिन प्रति १००० क्युबिक फिटको दरले फुमिगेशन गर्ने । फुमिगेशन गर्दा निस्किने फर्मलिनको धुँवा आँखाले ठम्याउन नसकिने सानासाना चर र प्वालहरु समेतमा पुगेर जीवाणु र विषाणुलाई निस्तेज गर्ने काम गर्दछ । फुमिगेशनको बदलामा थर्मल फोगिंग गर्न पनि सकिन्छ । तर यो विधिको लागि थर्मल फोगर भन्ने यन्त्र चाहिन्छ जुन केहि महँगो छ । थर्मल फोगरबाट निस्किने निसंक्रमण झोलको कण फुमिगेशन धुँवा भन्दा पनि सानो हुन्छ । त्यसैले यो विधि फुमिगेशन विधि भन्दा पनि प्रभावकारी हुन्छ । अन्त्यमा फुमिगेशन वा थर्मल फोगिंग गरेर खोरको निसंक्रमण गर्ने प्रक्रियालाई टर्मिनल डिसइन्फेक्शन (Terminal disinfection) भनिन्छ
टर्मिनल डिसइन्फेक्शन गरिसकेपछि खोरबाट नमुना लिएर ल्याब परिक्षण गरी संक्रामक जीवाणु (जस्तैः सालमोनेला) मुक्त भए—नभएको कुरा जानकारी लिन सकिन्छ । यसबाट खोर निसंक्रमण प्रकृया कत्तिको प्रभावकारी भयो भन्ने कुराको यकिन गर्न सकिन्छ ।
फुमिगेसन वा थर्मल फोगिंग गर्न अगाडी खोरको पर्दाहरु राम्रोसँग बन्द गर्ने । २४ घण्टापश्चात पर्दा खोलेर कम्तिमा ७२ घण्टा खुला हावा वहन दिने (अर्थात चल्ला विना नै खुला छोड्ने) ।
व्रोइलर कुखुराको हकमा खोर तयार गरेपछि कम्तिमा ७ दिन खोर खालि राख्ने । अघिल्लो लटमा रोग संक्रमणको समस्या व्यापक भएको अवस्थामा खालि राख्ने अवधि दोब्बर गर्ने । सम्भव भएसम्म २ हप्तासम्म खालि राख्नसके झनै राम्रो हुन्छ
लेयर्स कुखुराको हकमा खोर तयार गरेपछि कम्तिमा १५ दिन खोर खालि राख्ने । अघिल्लो लटमा रोग संक्रमणको समस्या व्यापक भएको अवस्थामा खालि राख्ने अवधि दोब्बर गर्ने । सम्भव भएसम्म १ महिनासम्म खालि राख्नसके झनै राम्रो हुन्छ
प्यारेन्ट कुखुराको हकमा खोर तयार गरेपछि कम्तिमा ३० दिन खोर खालि राख्ने । अघिल्लो लटमा रोग संक्रमणको समस्या व्यापक भएको अवस्थामा खालि राख्ने अवधि दोब्बर गर्ने ।
भुष राखिसकेपछि चल्ला ल्याउन अगाडी भि–अक्स (V-Ox) वा वायो −बुस्टर प्लस (Bio-buster Plus) जस्ता भाईरुसाईडल औषधि ५ ग्राम प्रति लिटर पानि प्रयोग गरेर खोरको भुई, भित्ता, सोत्तर, पर्दा आदि चारैतिर छर्किने ।
भुइँ कच्ची भएको खोरको भुइँको माटो चारैतिर (सबैतिर) बाट २ इन्च गहिराई खनेर सो गहिराईमा भएको पुरानो माटो खोर भन्दा पर लगेर फाल्ने । अन्य श्रोतबाट फ्रेस माटो ल्याएर सो स्थानमा राख्न सकिन्छ ।
ब्रुडिङ तयारि
खोर सफा गरिसकेपछि ब्रुडिङ गर्ने ठाउँ निश्चित गर्ने ।
घाममा सुकाइएको सोत्तर, निसंक्रमण गरेको दाना—पानीको भाडा, ब्रुडर र औषधिको व्यवस्था गर्ने ।
कम्तिमा तिन इन्च वाक्लो हुने गरि भुईमा चारैतिर सोत्तर छर्ने ।
सोत्तर माथि पत्रिका ओछ्याएर दाना—पानीका भाँडा र ब्रुडर राख्ने साथै वरिपरि १८ इन्च अग्लो ब्रुडर रिङ्ग (अथवा चिक गार्ड) राख्ने ।
सुरुमै चल्लाले फिडरबाट दाना टिप्न असहज महशुस गर्नसक्छ । सुरुको अवस्थामा दाना खपत उचित भएन भने यसले पछिसम्म कुखुराको शारीरिक वृद्दि−विकासमा नकारात्मक असर पार्न सक्छ । तसर्थ सुरुको ४-५ दिन पत्रिका ओछ्याई पत्रिकामाथि दाना छारिदिनु उपयुक्त हुन्छ ।
पत्रिकालाई ४—५ पत्र बनाएर ओछ्याउने ताकि प्रत्येक दिन माथिको फोहर पत्र मात्र निकालेर हटाउन सकियोस र तलका सफा पत्र सुरक्षित रहिरहोस । अन्यथा प्रत्येक पटक फोहर पत्रिका हटाएर सोहि ठाउँमा नयाँ राख्न अफ्ठ्यारो हुन्छ । ४—५ दिन पछि चल्लाले फिडरबाटै सहजै दाना खान सक्छन र पत्रिकाको आवश्यकता पर्दैन ।
ब्रुडिङ गरिने चल्लाको संख्या र ब्रुडरको क्षमता अनुसार ब्रुडर संख्या निर्धारण गर्ने र ब्रुडिङ क्षेत्रफलमा झुन्ड्याएर राख्ने । बजारमा विभिन्न क्षमताको ब्रुडर पाइन्छ ।
प्रति ४० चल्ला १ गोलो चिक्स फिडर र प्रति ४० चल्ला १ गोलो चिक्स ड्रिङकरको दरले दाना—पानीको भाँडाको व्यबस्थापन गर्ने ।
दानापानिको भाँडा कतै भिडभाड र कतै खालि नहुने गरी ब्रुडिङ क्षेत्रफलको चारैतिर समानुपातिक ढंगबाट फैलाएर राख्ने । दानाको भाँडा र पानीको भाँडा एकपछि अर्को (Alternate) प्रणालीमा राख्दा उपयुक्त हुन्छ ताकि फिडर मात्र एकातिर र ड्रिंकर मात्र अर्कातिर नहोस ।
उपकरणले सहि काम गरे नगरेको जाँच गर्ने । गर्मि मौसममा चल्ला आइपुग्नु भन्दा २४ घण्टा अगाडी नै र जाडोयाममा ४८ घण्टा अगाडी नै ब्रुडर र बत्ति बालेर तापक्रम दिने (खोरको तापक्रम ३५ डिग्री सेन्टिग्रेड हुनुपर्ने) । खोरमा उपयुक्त तापक्रम कायम गर्न थर्मोमिटर राख्ने, निरन्तर तापक्रमको जाँच गर्दै आवश्यकता अनुरुप ब्रुडर तापक्रम घटाउने—बढाउने गर्ने ।
साथै चल्ला आइपुग्नु अगाडी नै दाना—पानीका भाडाहरु भरेर तयारि अवस्थामा राख्ने ताकि चल्ला आइसकेपछि तयारि गर्न ढिला नहोस ।
प्रकाशको लागि ब्रुडिङ कक्षमा पहेलो ज्योति दिने टङ्गसटेन बल्ब प्रयोग गरिने भए प्रति वर्गमिटरको लागि ४ वाट प्रकाशको चमक भए पुग्छ । अथवा, सेतो ज्योति दिने सीएफएल वा ट्युब लाईट प्रयोग गरिने भए प्रति वर्गमिटरको लागि १ वाट प्रकाशको चमक भए पुग्छ
निम्न तालिका अनुसार ब्रुडिङ क्षेत्रफल मिलाउने र क्रमश बढाउदै लैजाने ।
उमेर (हप्ता) क्षेत्रफल (स्क्वायर फिट प्रति चल्ला)
१ ०.२७
२ ०.५४
३ ०.७२
४ ०.९८
चल्ला आइपुग्ने वित्तिकै निम्न अनुसार काम गर्ने
चल्लालाई छिटो भन्दा छिटो ब्रुडिङ कक्षमा छोडिहाल्ने ।
छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आईबिएच १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ ।
चल्लालाई ह्याचारिबाट खोरसम्म ल्याउँदा तनाव हुने हुँदा सुरुमा ३÷४ घण्टा इलेक्ट्रोलाईट (Electrolyte) पानि मात्र खुवाउने ।
पानि खान थालेको २÷३ घण्टापछि मात्र दानाको भाँडा राखिदिने र ओछ्याइएको पत्रिकामा दाना छरिदिने ।
सकेसम्म चिसो पानि नदीई उमालेर सेलाएको पानि दिनुपर्छ । गर्मि मौसममा पानि सफा गर्ने सानिटाइजर (Sanitizer) औषधि प्रयोग गर्ने । किनभने गर्र्मीयाममा पानीमा ई कोलाई कस्ता हानिकारक जिवाणुको मात्रा वृद्दि भएको हुन्छ । तर पानीको माध्यामबाट भ्याक्सिन दिनुभन्दा ४८ घण्टा अगाडी र ४८ घण्टा पछाडी सम्म सानिटाइजर बन्द गर्ने ।
संक्रामक जीवाणु रहित स्वस्थ आन्द्रा र पाचन नली विकाशको लागि सुरुको ३ देखि ५ दिन प्रोवायोटिक (Probiotic) दिने । संक्रमण मुक्त चल्ला भएको खण्डमा सुरुमै एन्टीवायोटिक खुवाउनु पर्दैन । प्रोवायोटिक भनेका शरीरलाई हानि नगर्ने प्रकृतिका जीवाणु हुन जसले पाचन नलीको ठाउँ ओगटीसकेपछि हानिकारक जीवाणुले संक्रमण गर्ने सम्भावना न्यूनीकरण भएर जान्छ । यसलाई प्रतिस्पर्धात्मक वहिस्करणको सिद्धान्त (Competitive exclusion) भनेर चिनिन्छ ।
चल्लामा संक्रमण भएमा दर्तावाल भेटेरिनरी डाक्टरको राय–सल्लाह लियर मात्र एन्टीवायोटिक औसधि चलाउने । अन्यथा जथाभावी एन्टीवायोटिकको प्रयोग नगर्ने ।
पानीमा एसिडीफायर (Acidifier) राख्नु उपयुक्त हुन्छ । एसिडीफायरले पानी र पाचन नलीको पिएच मानलाई घटाई अम्लीय वातावरण स्थापना गर्दछ । अम्लीय वातावरणमा ई कोलाई, सालमोनेला जस्ता संक्रामक जीवाणु वृद्दि—विकास हुन पाउदैन ।
साथै तनाव कम गर्न र रोग प्रतिरोधात्मक शक्ति विकास गर्न मल्टिभिटामिन (Multivitamin A, D, E, C) दिने ।
कमजोर चल्लाहरुलाई छुट्याएर अलग्गै ब्रुडिङ गर्दा उपयुक्त हुन्छ ।
खोरमा निम्न अनुसार ब्रुडिङ तापक्रम कायम गर्ने । खोरमा उपयुक्त तापक्रम कायम गर्न थर्मोमिटर राख्ने, निरन्तर तापक्रमको जाँच गर्दै आवश्यकता अनुरुप ब्रुडर तापक्रम घटाउने—बढाउने गर्ने ।
उमेर (दिन।हप्ता) तापक्रम (डिग्री फरेनहाईट)
०—२ दिन ९५
३—४ दिन ९४
५—७ दिन ९२
२ हप्ता ९०
३ हप्ता ८५
४ हप्ता ८०
५ हप्ता ७५
६ हप्ता ७०
नोटः
ब्रुडिङ अवस्थामा खोरको तापक्रम मिलाउदा अनुमानको भरमा नगरिकन अनिवार्य रुपमा थर्मोमिटरको प्रयोग गर्नुपर्दछ । थर्मोमिटरलाई ब्रुडिङ क्षेत्रफलमा भुई भन्दा २ इन्च माथि झुन्ड्याउने ।
ब्रुडरको सिधै तल दानापानीको भाँडा राख्नु हुदैन ।
कुखुराको जीवन चक्रमा सबैभन्दा संवेदनशील अवस्था हो ब्रुडिङ अवस्था । यो अवस्थामा हुने गल्ति एवं कमि—कमजोरीले अन्त्यमा प्राप्त गरिने उत्पादनमा ह्रास ल्याउँछ ।
ब्रुडिङ समयमा तापक्रम एवं दानापानी लगायतका अन्य व्यवस्थापन ठिक भए नभएको कुरा एक हप्ता पछीको चल्लाको तौल बाट थाहा पाउन सकिन्छ । सामान्यतया व्रोइलरको हकमा एक हप्ताको अन्त्यमा चल्लाको तौल एक दिन (ह्याच डे) को तौल भन्दा चार गुणा बढी हुनुपर्छ (कब ५०० को १८४ ग्राम) । त्यस्तै लेयर्स चल्लाको तौल १ हप्ताको अन्त्यमा ७०−७५ ग्राम हुनुपर्छ । सो अनुसार तौल प्राप्त नभए ब्रुडिङ व्यवस्थापनमा कमजोरी भएको भन्ने बुझिन्छ ।
ब्रुडिङ खोरको तापक्रम ठिक भए नभएको पत्ता लगाउने तरिका
१) चल्लाहरु बराबर रुपले खोरको चारैतिर फैलिएर बसेका छन भने तापक्रम ठिक छ भन्ने बुझिन्छ ।
२) चल्लाहरु ब्रुडर भन्दा टाढा भित्तापट्टी भिड गरेर बसेका छन भने तापक्रम बढी भएको बुझिन्छ । यस्तो अवस्था आए ब्रुडरको तापक्रम घटाउनु पर्दछ ।
३) चल्लाहरु ब्रुडरको नजिकै एकैठाउँमा थुप्रिएर बसेका छन भने तापक्रम कम भएको भन्ने बुझिन्छ । यस्तो अवस्था आए ब्रुडरको तापक्रम बढाउनुपर्दछ ।
अन्य संकेतहरु
दाना पानिको भाडामा भिड देखिएमा भाँडाहरु कम भएको भन्ने बुझिन्छ ।
सोत्तर ओसिलो वा भिजेको देखेमा पानी राम्रोसँग नराखेको वा भेन्टिलेसन सुधार्नुपर्ने वा सोत्तर फेर्नु पर्ने भन्ने बुझिन्छ ।
खोरमा गन्ध बढी भएमा भेन्टीलेसन सुधार गरी दुई किलो चुना र आधा किलो सुपरफस्फेट १०० बर्ग मिटरलाई आधा किलोको दरले छरेमा ग्यास निस्कन कम हुन्छ । खोरभित्र उत्पादन हुने एमोनिया ग्याँसलाई न्यूनीकरण गर्न एमोनिया अक्सिडाइजर रसायन भएका औसधि जस्तैः एमोब्लास्ट (Ammoblast), केनोलिट (Kenolit) आदि प्रयोग गर्न सकिन्छ ।
प्रचलित भनाई नै छ, राम्रो सुरुवात गर्नु भनेको आधा काम सक्नु जस्तै हो । यो कुरा कुखुरापालन व्यवसायमा पनि लागु हुन्छ । सुरुको ब्रुडिङ अवस्था कुखुरापालनको लागि सबैभन्दा चुनौतिपूर्ण अवस्था हो । माथि उल्लेख गरेजस्तै गरी खोरमा नयाँ चल्ला ल्याउनु अगाडि देखि नै आवश्यक तारतम्य मिलाएर ब्रुडिङ अवस्थामा राम्रो प्रबन्ध मिलाउन सकेको खण्डमा व्यवसायिक मुनाफाको लागि जग बलियो बनाउन सकिन्छ ।
Σχόλια